‘गीत र गजल मिडियाले छुट्याउनु र्पछ’

सुनसरी २५ असोज । नेपाली सञ्चारमाध्यमले गीत र गजललाई नछुट्याइ प्रकाशन र प्रसारण गर्दा सर्वाधिक लोकप्रियतामा रहेपनि गजल विधा उपेक्षामा परेको गजलकारहरुले  बताएका छन् ।
नेपाल गजल प्रतिष्ठान र सङ्गीत साधना प्रतिष्ठानले आज इटहरीमा आयोजना गरेको गजल विमर्शमा गजलको विकास र परिस्कारको अभियानमा लागेका अभियन्ताहरुले मिडियाले गजल भनेर जस्ता पायो त्यस्तै रचना प्रकाशन प्रसारण गर्ने गरेको बताए । अनाम मण्डलीका सल्लाहाकार  तथा संस्थापक अध्यक्ष सुरेश सुवेदीले एफएम रेडियोहरुले गजललाई गीत भनेर र गीतलाई गजल भनेर बजाउँदा स्रोतामा भ्रम सिर्जना भएको बताउनुभयो ।
एफएम रेडियो र पत्रपत्रिकाले स्तरहीन गजल पनि प्रकाशन प्रशारण गरेकाले गजलमा विकृति देखा परेको नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखरको भनाइ थियो । संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले सञ्चार माध्यमले जस्तै संगीतकार र गायकहरुले पनि गजल नबुझी संगीत गर्दा र गाउँदा समस्या भएको बताउँनुभयो ।
पूर्वका पाँच दर्जन बढि गजलकार सहभागी विर्मश कार्यक्रममा भुपेन्द्र तिम्सिना, सुविद गुरागाइ, जीवि गजललगायतले गजलका बारेमा चर्चा गरे । भने ३० जनाबढीले गजल वाचन गरेका थिए ।

                                                                                                                                                                                      तस्विर : राज आशातित

गजल


अमला अधिकारी, सिन्धुली

मेरा बाले गोरू नारेको हेर्न आऊ
आमाले बीउ उमारेको हेर्न आऊ

कति मुस्किलले बनाउँछ चराले घर
चुच्चोले झिँजा ओसारेको हेर्न आऊ

के हेर्छौ पर्यटक सहरमा कृतिमता
प्रकृतिले गाउँ सिँगारेको हेर्न आऊ

दर्शिनढुङ्गामा झुलो राखेर हजुरबाले
चकमकले आगो पारेको हेर्न आऊ

कसले भन्यो माया गर्दिनँ तिमीलाई
शब्दमा तस्वीर उतारेको हेर्न आऊ


गजल

- जीबी गजल 
सिखरमा चड्दै जाउ खस्ने छदैछु म ।
तिमी उड पिन्जडामा बस्ने छदैछु म ।

बिस्तारै पारी तर हिडेर पुलबाट,
वारिबाटै बाढिभित्र पस्ने छदैछु म ।

हास बोल कुनै रोक छैन तिमीलाई,
आफ्नो घाटी आफैलेनै कस्ने छदैछु म ।

अर्कैको सिन्धुर पोते लगाएर हिड,
जोगी बनी खरानी चै घस्ने छदैछु म ।

शान्ति मिलोश हृद यमा सधैसधै नै,
यो छातीमा तिखो छुरा धस्ने छदैछु म ।

गजलमा गर्जदै पूर्वेली नारी

महामाया मासिकमा 
नियति नै यस्तै भनी नारीहरु झुक्नुहुन्न ।
लजालु त्यो घुम्टो ओढी भयो अब लुक्नुहुन्न ।

तेज बनी बगिरहे ढुङ्गो छेड्छ पानीले’नि,
विश्वासको हिमनदी खहरे भै सुक्नुहुन्न ।
इच्छा, चाहना र अधिकार पूरा गर्न लागि पर्नुपर्छ भन्ने दृढता बोकेको गजलका यी दुई शेर मायामितु न्यौपानेले निर्वासित चराहरु गजलसङ्ग्रहमा राखेकी छन् । भुपेन्द्र तिम्सिनासँगको संयुक्त सङ्ग्रहमा रहेका उनका अधिकतर गजल नारी चेतनाले भरिएका छन् । मानवीय संवेग र नेपाली परिवेशलाई आधार बनाएर शेरहरु बुन्छिन् उनी । नारी मनलाई गजलमा दुरुस्त उतार्नु उनको अर्को विषेशता हो । महिलालाई कमजोर ठान्ने हाम्रो समाजको मासिकताविरुद्ध उनी गजलमार्फत् सोझो प्रतिवाद गर्छिन् ।